डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकाले दुध बोक्ने ट्याङकर हस्तान्तरण गरेको छ।

सोमबार गाउँपालिकाले दुग्ध विकास संस्थान धनगढी आयोजनालाई ९ हजार लिटर क्षमताको ट्याङकर हस्तान्तरण गरेको हो।

गाँउपालिकाका अध्यक्ष बलबहादुर गुरुङ्गले उक्त ट्याङकर दुग्ध वितरण आयोजनाका आयोजना प्रमुख कृष्णप्रसाद अर्याललाई हस्तारन्तरण गरेका हुन।

भित्रिमधेश क्षेत्रमा उत्पादन भएको दुधको बजारीकरणका लागि गाउँपालिकाको अगुवाईमा जिल्लामा कार्यरत युनएनडीपी, सिड्स नेपाल, मर्सिकोर नेपाल र एकिकृत विकास समाजद्वारा सञ्चालित एमरेड परियोजना र दुग्ध विकास संस्थानको साझेदारीमा दुग्ध ट्यांकर खरिद गरिएको अध्यक्ष गुरुङले बताए।

किसानको हकहितमा दुग्ध ढुवानी ट्यांकर खरिद गर्ने आलिताल गाउँपालिका नेपालकै पहिलो स्थानीय तह भएको दुग्ध विकास संस्थान धनगढी वितरण आयोजनाका आयोजना प्रमुख अर्यालले बताए।

आलिताल गाउँपालिका र दुग्ध विकास संस्थानको स्वामित्वमा रहनेगरी खरिद भएको दुग्ध ट्यांकरले त्यस क्षेत्रमा उत्पादन भएको दुधलाई व्यवस्थित रुपमा कैलालीलगायत नेपालका अन्य शहरहरुसम्म निर्यात बताइएको छ।

डडेल्धुराको भित्रिमधेश क्षेत्रमा ८ वटा दुग्ध संकलन केन्द्र सञ्चालनमा रहेका छन्।